आफ्नै भाषामा परिवर्तन गरेर हेर्नुहोस : JAGJAGINEWS

Sunday, July 31, 2016

महावीर पुनले तीन करोड रुपैयाँ बराबरको निजी जग्गा दान दिने घोषणा

महावीर पुनले आफ्नो निजी सम्पत्तिका रुपमा पोखरामा रहेको २८ रोपनी जग्गा राष्ट्रिय आविष्कार केन्द्रलाई दान गरेका छन्। पुनले पोखराको बेगनास ताल छेउमा रहेको आफ्नो नामको तीन करोड रुपैयाँ बराबरको निजी जग्गा दान दिने घोषणा गरेका हुन्।



पर्वतका पदम पुन र महावीरले २० वर्ष अगाडि किनेको उक्त जग्गा भविष्यमा समुदायलाई फाइदा हुने कुनै राम्रो कामका लागि प्रयोग गर्ने भनेर सल्लाह गरेका थिए। हाल पदम पुन अमेरिकामा बसोबास गरेपछि सबै जग्गा महावीरको नाममा नामसारी भएको उनले बताएका छन्।


राष्ट्रिय आविष्कार केन्द्रलाई संस्थागत गर्न प्रधानमन्त्रीहरू, पूर्वअर्थमन्त्री डा रामशरण महत र वर्तमान अर्थमन्त्री विष्णु पौडेल तथा अर्थ सचिव र सहसचिवहरूसँग बारम्बार सहयोगका लागि पुनले अनुरोध गरेको तर सहयोग नपाएपछि आफ्नै जग्गाबाट अघि बढ्न चाहेको बताएका छन्। राष्ट्रिय आविष्कार केन्द्र पुनसहितको पहलमा स्थापना भएको संस्था हो।

 आफ्नो फेसबुक पेजमा पुनले लेखेका छन्, : सरकारको ढोका छोडेर जनताको ढोकामा आविष्कार केन्द्र गइसकेको अवस्थामा र मैले नेपालको विकासको लागि मेरो बचेको जिन्दगीको सम्पूर्ण समय दान गर्छु भनिरहेको अवस्थामा सो २८ रोपनी जग्गा पनि राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्ने घोषणा गर्दछु।’

पैसाको अति नै आवश्यकता भएको खण्डमा त्यो जग्गा बेच्ने अथवा पैसा पुगेको खण्डमा त्यो जग्गामा अनुसन्धानका लागि केही भौतिक संरचना बनाइने पुनले जनाएका छन्। पुनले अरुलाई पनि यो अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

No comments:

Post a Comment

Popular Posts