मादक पदार्थ सेवन गरेका नेपाली सेनाका एक अधिकारीलाई कार्यालय प्रवेशमा कडिकडाउ गरेकै कारण वडा प्रहरी कार्यालय बैदामका एक जवानले कारबाहीमा ग्परेको छ। मापसे गरी गाडी चलाउँदा पक्राउ परेका आफन्तलाई छुटाउन गएका मेजर सामन्त खाँडलाई रोक्दा जवान गणेशबहादुर विष्टलाई उनकै संगठनले कारबाही गरेको हो।
कार्यालय र संगठनको हितमा कर्तव्य निर्बाह गर्दा उल्टै सजाय भोग्नुपरेपछि विष्टले आफूमाथि अन्याय भएको भनी राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गराएका छन्। आयोगको पोखरास्थित क्षेत्रीय कार्यालयमा दर्ता उनको उजुरीमा वप्रका बैदाम प्रमुखबाट मानसिक यातना पाएको दुखेसो छ। विष्टले न्यायका लागि मानवअधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई पनि गुहारेका छन्। जवान विष्टलाई उनकै संगठनले कारबाही स्वरुप एक दिन हिरासतमा राखेको थियो। जागिरबाट बर्खास्त गर्नेसम्मको धम्कीबाट आफूलाई मानसिक यातना दिएको भन्दै विष्टले उजुरी हालेका हुन्।
असार २५ गते लेकसाइडमा मापसे गरी बा८च ८२२७ नम्बरको गाडी हाँकेका अमित चन्दलाई त्यहाँ खटिएका प्रहरीले समातेका थिए। सेन्टर प्वाइन्टमा सई कुमार श्रेष्ठको कमान्डमा प्रहरी टोली खटिएको थियो। मापसे गरी गाडी चलाएका चन्दलाई प्रहरीले रोक्यो, तर उनले झनै हुइँक्याए। सई कुमार नै ज्यान जोगाउन गाडीबाट तर्किनुप¥यो। तर, पछि भ्यान नै लिएर गएर डिहिकोपाटनबाट उनलाई प्रहरीले समात्यो। तिनै चन्दलाई छुटाउन भनेर मेजर खाँड राति सबा १२ बजे वप्रका बैदाम पुगेका थिए। रातको समयमा निजी गाडी सिधै कार्यालयभित्र छिराउन खोजेपछि गेटमा खटिएका जवान अञ्जीत श्रेष्ठले सोधे ‘के होला सर?’। जवाफ आयो,‘आइ एम अफिसर’। अंग्रेजी बोल्दै मेजर सामन्त खाँड गाडीबाट निस्किए। परिचयपत्रसमेत देखाएर ‘म मेजर हो’ भन्दै उनी गाडीबाट झरे। उनी रक्सीकोनशामा रहेको थाहा पाउनासाथै प्रहरीले झन् गेट खोलेर गाडी भित्र छिराउन मानेनन्।
‘मलाई रोक्ने को ? ’मेजर चर्को स्वरमा उफ्रन थाले। गाडी उनकी श्रीमतीले चलाएकी थिइन्। गाडी गेटभित्र पस्न पाएन। सामन्त गाडीबाट झरी अंग्रेजीमा गाली गर्दै भित्र पसे। चर्को हल्लाखल्ला सुनेपछि गेट छेवैका अर्का एक प्रहरी जवान गणेशबहादुर विष्ट पनि अञ्जित नजिक पुगे। विष्टले मेजरलाई बाहिर जान आग्रह गरे। तर मानेनन्। भनाभन भयो। तँ—तँ र म—ममै भनाभन भएपछि खाँडकी श्रीमती कार बाहिर आएर श्रीमान्लाई सम्झाउन थालिन्। तर मेजेरले टेरेनन्। मेजरले कार्यालय नै थर्कने गरी हल्ला गर्न थालेपछि कार्यालयभित्रबाट सब इन्स्पेक्टर (सई) गेटमा पुगे। मेजेरले ती सईलाई पनि अंग्रेजीमा अपशब्द प्रयोग गर्न थाले। त्यसपछि मेजरकी श्रीमतीले श्रीमान्को तर्फबाट ती सईसँग माफी मागिन्।
त्यसपछि कार्यालयमै गएर कुरा गर्ने भन्न थाले। ‘हामीलाई अरु कुरामा कुनै आपत्ति होइन तर, गेटमा बसेको जवानले ‘तँ’ भनेर सम्बोधन गर्नु राम्रो भएन,’ मेजरकी श्रीमतीले भनिन्। उनीहरुबीच कुराकानी हुँदै थियो। त्यतिकैमा नेपाली सेनाका कर्णेल समेत साढे १ बजे त्यहीं आइपुगे। झगडाको पहिले नै जानकारी पाएका वडा प्रहरी कार्यालय बैदामका प्रमुख इन्स्पेक्टर मोहनमणि अधिकारी कर्णेल आएको थाहा पाएपछि बल्ल उठेर कार्य कक्षमा आइपुगे। कर्णेलसँग कुराकानी गरेर मापसेमा समातिएका अमित चन्दलाई छाडिदिए।
भोलिपल्ट बिहान ११ बजे कर्णेल, मेजर, उनका श्रीमती र मेजरका आफन्त चन्द वडा प्रहरी कार्यालय आइपुगे। इन्स्पेक्टर मोहनमणि कार्यालयमै थिए। उनीहरुले प्रहरी जवान विष्टविरुद्ध उजुरी दिए। कुरा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी घनश्याम अर्यालसम्म पनि पुग्यो। प्रहरी जवान विष्टलाई कारबाही नगरे सुरक्षा संयन्त्रमा कुरा उठाउने कर्णेलले कास्की प्रहरीसँग गरे। त्यो दिन जिल्ला प्रशासन कार्यालयको ड्युटीमा थिए विष्ट। विष्टलाई वडा प्रहरी कार्यालय बैदाम तुरुन्तै डाकियो। उनी पुगे। ‘उसैले हो त भन्दै दुर्यव्यवहार गरेको’ भन्दै थिए मेजर र उनकी श्रीमती। त्यसपछि मोहनमणिले ‘त्यसो भनेको हो’ भन्दै विष्टलाई गाली गर्न थाले। ‘मेरो गल्ती छैन सर उहाँ नै मापसे गरेर आउनुभएको थियो, उल्टो मलाई गाली गर्नु भएको हो’ भन्दै विष्ट जर्किन थाले। आफ्नो गल्ती नभएको भन्दै विष्ट निकै आक्रोशित देखिए। ‘देख्नु भयो, तपाईंको अगाडि त यस्तो कुरा गर्छ भनेपछि हिजो राति कस्तो गर्यो होला ? ’ मेजर उल्टो खनिन थाले।
त्यसैमाथि मेजरले त्यति कुरा थपिदिएपछि इन्स्पेक्टर अधिकारी रिसाउँदै ‘यसलाई लगेर थुन्दे ’ भने। ‘मेरो गल्ती छैन मलाई किन थुन्ने ?’ भन्दै विष्ट बाहिर निक्लिए। ‘एक पक्षीय कुरा सुनेर मलाई थुन्ने म जागिर खान्न बरु’ भन्दै विष्ट बैदामको गेटबाट निक्लिएर डिआइजी कार्यालयमा गुनासो गर्न दौडिए। विष्ट दौडिँदै जिल्ला कारागार अगाडि के पुगेका थिए, बैदाम प्रहरीबाट भ्यान आयो र विष्टलाई पक्राउ गरी लग्यो। इन्स्पेक्टर मोहनमणिले उनलाई हिरासतमा राख्न आदेश दिए। ७ घन्टा थुनिए। उच्च रक्तचापका बिरामी विष्ट तनावका कारण बिरामी भए। त्यसपछि विष्टलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइयो। रक्तचाप उच्च देखियो। उनलाई आराम गर्न दिइयो।
वडा प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर त्यसपछि उनले आफूलाई मानसिक यातना दिएको भन्दै विष्टले मानवअधिकार आयोग र इन्सेकमा उजुरीसमेत दिएको बताए। ‘मैले गल्ती गरेको भए मलाई कारबाही हुनुपर्छ,’ विष्टले भने, ‘तर के हिरासतमै राख्नुपर्ने थियो ? ’ इमान्दार भएर काम गर्दा समेत कारबाही भोग्नु परेको विष्टले गुनासो गरे। ‘इन्स्पेक्टर मोहनमणि सरले जाँड खाएर बबाल गर्ने मेजरलाई कारबाही गर्ने हो कि? म संगठनका लागि गेटमा उभिनेलाई गर्ने हो ?’ विष्टले प्रश्न गरे। न्यायका लागि मानवअधिकार आयोजमा उजुरी दिएको विष्टले बताए। विष्टले वडा प्रहरी कार्यालय बैदामका प्रमुखविरुद्ध उजुरी दिएको मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका अधिकृत ज्योति घिमिरेले बताए ।
No comments:
Post a Comment