मान्छेलाई बोक्ने संसारकै पहिलो ड्रोनले अमेरिकाको नेभाडामा यही वर्षको अन्ततिर परीक्षण उडान भर्न सक्ने जनाइएको छ । सिन्ह्वा न्युज अनुसार ई–हांग होल्डिङ कम्पनी नामको कम्पनीले यस्तो तयारी थालेको हो।
चीनको दक्षिणी प्राप्त ग्वाङडोङमा अवस्थित उक्त कम्पनी र नेभाडा राज्यले संयुक्त रुपमा ई–हांग १८४ अटोनोमस एरियल भेइकल नामको ड्रोनमा पहिलो पटक मान्छेलाई राखेर छाटो तथा मध्यम दुरीको उडान भर्ने तयारी गरिरहेका छन् । नेभाडाको इन्स्टिच्युट फर अटोनोमस सिस्टमस एनआइएएस ले उक्त चीनिँया कम्पनीलाई उडान अनुमति दिइसकेको छ।
उक्त परीक्षण नेभाडाको त्यस्ता छ परीक्षण केन्द्रहरुमध्ये एक स्थानमा हुनेछ, जहाँ ड्रोन परीक्षणका लागि अनुमति दिइएको छ। विद्युतीय इञ्जिनले चल्ने ई हांग १८४ सर्वप्रथम २०१६ को जनवरीमा लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रिक शो मा प्रदर्शन गरिएको थियो। कम्पनीका अनुसार यसले एक सय किलोग्रामसम्मको एक यात्रु बोकेर करीब समुद्री सतहको उचाइमा एक सय किलोमिटर प्रतिघण्टाको गतिमा २३ मिनेटका लागि उडान भर्न सक्दछ ।
ई हांग १८४ मा उड्ने व्यक्तिले ड्रोनमा जडित स्मार्टफोन एप्लिकेशनमा कुनै एक गन्तब्य निर्धारण गर्न सक्दछ। साथै यसलाई उड्न वा बस्न धावनमार्गको आवश्यकता पर्नेछैन। मान्छे बोक्ने ड्रोनलाई लिएर कैयौँ सवालहरु उत्पन्न भएका छन्। तीमध्ये कम्तीमा पनि केही प्रश्नहरुको उत्तर चाँडै प्राप्त हुने निश्चित भएको छ । सुरुमा मानवविहीन क्षेत्रमा परीक्षण उडान गरे पनि विस्तारै यस ड्रोनलाई मानवीय उपयोगमा ल्याइनेछ।
गएको महिना ई हांगले अमेरीकी कम्पनी लंग बायोटेक्नोलोजीसँग सहकार्य गरी १००० ओटा ई हांग १८४ को विकसित र संशोधित संस्करण किन्ने र त्यसलाई मानवीय अंगहरुको अनुकूलन तथा वितरणमा प्रयोग गर्ने घोषणा गरेको थियो। यी दुई कम्पनीहरुले आगामी पन्ध्र वर्षसम्म म्यानिफ्याक्चर्ड अर्गान ट्रान्सपोर्ट हेलिकोप्टर सिस्टम नामको कार्यक्रमका लागि सहकार्य गर्ने पनि जनाएका छन्।
No comments:
Post a Comment