यो वर्ष एसएलसी परीक्षाको नतिजा ग्रेडिङ अर्थात् जीपीए प्रणालीअनुसार सार्वजनिक भएपछि भने धेरैलाई विश्वविद्यालयस्तरका विषय छनौट गर्ने कि प्राविधिक शिक्षालय रोज्ने भन्ने अन्योल छ । एसएलसीमा कोही फेल नहुने भनिए पनि प्लस टु पढ्न भने जीपीए प्रणालीअनुसार सामाजिक शिक्षा विषयमा डी प्लस ल्याउनैपर्ने भएकाले धेरैले कक्षा ११ मा भर्ना हुन पाउँदैनन् । यस्तो अवस्थामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) ले प्रदान गर्ने सीपमूलक तालिम तथा प्राविधिक कोर्सहरूमा विद्यार्थीको आकर्षण बढेको छ ।
सामाजिकमा ‘डी’ र ‘ई’ ल्याउनेले मात्र होइन, ‘ए प्लस’ ल्याउनेहरूले पनि प्राविधिक कोर्सहरूमा आफ्नो भविष्य देखेका छन् । नेपालमा पनि रोजगारमूलक शिक्षालाई प्राथमिकता दिँदै प्राविधिक शिक्षाका थुप्रै विषय पढ्न पाइने व्यवस्था छ । त्यसमध्ये सिटिइभिटीले प्रदान गर्ने प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिमले व्यक्तिलाई ‘गरिखान सक्ने’ बनाउँछ भन्ने कुरा बुझेका विद्यार्थीहरू यतातर्फ झुम्मिएका हुन् ।
यो वर्ष जीपीएमा अयोग्य ठहरिएका १७ दशमलव ८८ प्रतिशत विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाएनन् । यिनै विद्यार्थीलाई लक्षित गरी रोजगारमूलक सीप सिक्न सिटिइभिटीले पनि आह्वान गरिसकेको छ । विज्ञापनमार्फत नै सिटिइभिटीले कम जीपीए र विषयगत ग्रेड ल्याउने विद्यार्थीलाई १८ महिने टीएसएलसी कोर्सहरूको अध्ययन गर्न पाउने व्यवस्था मिलाइएको छ । सिटिइभिटीका सूचना तथा अनुसन्धान महाशाखाका निर्देशक तथा प्रवक्ता शिवशंकर घिमिरेका अनुसार विगतका वर्षहरूमा एसएलसी उत्तीर्ण हुनेले पढ्ने १५ महिने र अनुत्तीर्ण हुनेले पढ्ने २९ महिने कोर्सलाई समायोजन गरेर सबैलाई हुने गरी १८ महिने कोर्सको व्यवस्था गरिएको छ ।
प्राविधिक शिक्षाको माध्यमबाट स्वरोजगारी सिर्जना गर्ने उद्देश्यले सिटिइभिटीले विभिन्न तहका कक्षा सञ्चालनमा ल्याएको छ । सिटिइभिटीका आंगिक एवं सम्बन्धन लिएका शिक्षालयहरूबाट बजार सुहाउँदो सीप हासिल गर्ने गरी प्राविधिक शिक्षा प्रदान गरिन्छ ।
नेपालमा हाल आङ्गिक संस्थाका रूपमा एउटा प्राविधिक प्रशिक्षण प्रतिष्ठान छ । २१ वटा आङ्गिक शिक्षालय तथा २ वटा ग्रामीण तालिम केन्द्र सञ्चालित छन् । अन्य चारवटा साझेदारीमा सञ्चालित संस्थाका साथै १९ वटा बहु–प्राविधिक शिक्षालय गरी ४० भन्दा बढी संस्थामा पनि प्राविधिक कोर्सहरू अध्यापन भैरहेको छ । ७३ वटा सामुदायिक विद्यालयले पनि विभिन्न कोर्स सञ्चालन गरिरहेका छन् । सिटिइभिटीले तीनवर्षे डिप्लोमा, टी–एसएलसी तथा छोटो अवधिको तालिम सञ्चालन गरिरहेको छ ।
टी–एसएलसी तर्फ १ सय ५५ र डिप्लोमा तर्फ १ सय ९५ वटा संस्थाले प्राविधिक कोर्सको कक्षा सञ्चालन गरिरहेका छन् । छोटो अवधिका तालिमहरू भने ५ सयवटा सम्बन्धन प्राप्त प्राविधिक तालिम प्रदायक संस्थाले सीप प्रदान गरिरहेका छन् । सिटिइभिटीले साक्षर तथा एसएलसी दिएका विद्यार्थीका लागि छुट्टा–छुट्टै कक्षा सञ्चालन गर्छ ।
टीएसएलसीका केही कोर्स
यो वर्ष एसएलसी दिएका विद्यार्थीमध्ये करिब १ लाख ५ हजारभन्दा बढी विद्यार्थी कक्षा ११ मा भर्ना हुन पाउँदैनन् । उनीहरूको स्तरीकृत अंक १ दशमलव ६ भन्दा कम छ । ती विद्यार्थीले सिटिइभिटीले प्रदान गर्ने टीएसएलसीका कोर्स भने पढ्न पाउँछन् । ‘ई’ ग्रेड ल्याएकालाई पनि प्राविधिक कोर्सहरूको व्यवस्था गरिएको छ । यसमा ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशत सैद्धान्तिक विषय पढ्नुपर्छ । टी–एसएलसी सकेपछि भने तीनवर्षे कोर्स गर्न पाइन्छ । त्यसबाहेक उनीहरूले आफ्नो रोजाइमा छोटो अवधिका सीपमूलक तालिम पनि लिन सक्छन् :
स्वास्थ्यतर्फ : सिएमए, अनमी, ल्याब टेक्निसियन, आम्ची, आर्युवेद, डेन्टल हाइजेनिष्ट, अक्युपन्चर आदि ।
इन्जिनियरतर्फ : इलेक्ट्रिकल, मेकानिकल, सर्भे, सिभिल, जेटिसी (कम्प्युटर), अटो मेकानिक्स, रेफ्रिजेरेटर एन्ड एयर कन्डिसनिङ, स्यानिटेरी ।
कृषितर्फ : जेटिए, प्लान्ट साइन्स, टेक्सटाइल एन्ड सेरीकल्चर आदि ।
यसबाहेक कार्यालय व्यवस्थापन, सामाजिक परिचालक, उद्यमशीलता, अफिस व्यवस्थापनका कोर्सहरू पनि रोजीछानी पढ्न पाइन्छ ।
खर्च कति लाग्छ ?
प्राविधिक विषय अध्ययन गर्न फरक–फरक विषयका लागि फरक शुल्क निर्धारण गरिएको छ । सरकारी तथा निजी शिक्षालयले फरक–फरक शुल्क लिन्छन् । जुनसुकै कोर्स पूरा गर्दा सरकारीतर्फका शिक्षालयमा १५ हजार देखि १ लाखको हाराहारीमा लाग्छ । निजी क्षेत्रमा भने ६० हजारदेखि ५ लाखसम्म खर्च लाग्छ । कोर्स र अवधिअनुरूप शुल्क निर्धारण गरिएको छ ।
छनौट प्रक्रिया
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले हालसम्म प्राविधिक एसएलसी तह र तीनवर्षे डिप्लोमा/प्रमाणपत्र तहका कोर्सहरू सञ्चालन गरेको छ । भर्नाका लागि छनौट हुन अंग्रेजी, विज्ञान, गणित, स्वास्थ्यजस्ता विषयमा केन्द्रित रहेर प्रवेश परीक्षा दिनुपर्छ । प्रवेश परीक्षामा सामेल भएर प्रतिस्पर्धाका आधारमा तोकिएको कोटामा विद्यार्थी छनौट गरिन्छ । छोटो अवधिको तालिम अर्थात सीप परीक्षणका लागि भने छुट्टै व्यवस्था छ । जीपीए प्रणाली सुरु हुनुभन्दा अघि एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि फरक व्यवस्था छ भने जीपीएअन्तर्गत ‘ई’ ग्रेडलाई मान्यता प्रदान गरेकाले प्रवेश परीक्षामा सामेल हुन पाइन्छ । प्रवेश परीक्षामा अंग्रेजीमा–२०, गणीतमा–२०, विज्ञान वा स्वास्थ्यमा–२० गरी ६० पूर्णांकको वस्तुगत प्रश्न सोधिन्छ । न्यून संख्यामा कोटा भएकाले छनौट हुन भने कडा प्रतिस्पर्धा गर्नुपर्छ, तर पढ्ने विषय वा शैक्षिक कार्यक्रमहरू भने धेरै हुने भएकाले रोजीछानी पढ्न सकिन्छ ।
छोटो अवधीका तालिम
हातमा सीप भयो भने रोजगारी प्राप्त गर्न समस्या हुँदैन । सिटिइभिटीअन्तर्गतको सानोठिमी प्राविधिक शिक्षालयले छोटो अवधिको तालिम सञ्चालन गरी स्किल टेस्टमार्फत धेरैलाई आत्मनिर्भर हुन सक्ने बनाएको छ । सन् १९८३ मा स्थापना भएको यो शिक्षालयले १२ महिने लाइट भेइकल मेकानिकदेखि एकमहिने सवारी चालक तालिमसम्म प्रदान गर्छ । लाइट भेइकल सर्भिस मेकानिक, इन्टेरियर डिजाइन, मोटरसाइकल मेकानिक, लेथ सेटर अपरेटर, प्रिन्टिङ प्रेस टेक्निसियन, जुनियर प्लम्बर, हाउस वायरिङ, हेभी इक्विमेन्ट मेकानिक गरी १८ वटा क्षेत्रमा तालिम सञ्चालन गर्छ । यी तालिम लिन भर्ना शुल्कबापत न्यूनतम २ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । हरेक वर्षको साउन–भदौ र फागुनमा तालिम सत्र प्रारम्भ हुन्छ ।
छात्रावृत्तिको व्यवस्था
सिटिइभिटीको डिप्लोमा तथा १८ महिने तहका सबै कार्यक्रममा जेहेन्दार, वर्गीकृत र विशेष छात्रवृत्तिको व्यवस्था छ । वर्गीकृत र जेहेन्दार छात्रवृत्तिका लागि सम्बन्धित संस्थाको सोही कार्यक्रममा मात्र प्रतिस्पर्धा गर्न पाइन्छ । विशेष छात्रवृत्तिमा बेपत्ता पारिएका व्यक्ति तथा सहिद परिवार, जनआन्दोलनका घाइते, परिवार र द्वन्द्वबाट विस्थापित, महिला, अपाङ्ग, दलित, आदिवासी जनजाति, कमैया, मधेसी वा मुसलमान, मधेस आन्दोलन, भूकम्पपीडित, पिछडिएका वा दुर्गम क्षेत्रका विद्यार्थीलाई लक्षित गरिएको छ । सिटिइभिटीले न्यून बजेटबाट सबै तहमा अध्ययनरत विद्यार्थीलाई वार्षिक करिब १ अर्बभन्दा बढीको छात्रवृत्ति प्रदान गर्छ ।
सजिलै बिक्छ प्राविधिक शिक्षा
शिव शंकर घिमिरे
सूचना तथा अनुसन्धान महाशाखा निर्देशक तथा प्रवक्ता, सिटिइभिटी
प्राविधिक शिक्षामा जीपीए प्रणालीले कस्तो असर पुर्याएको छ ?
प्राविधिक शिक्षामा जीपीए प्रणालीले कुनै किसिमको अप्ठ्यारो सिर्जना गरेको छैन । सिटिइभिटीअन्तर्गतका सबै खाले कोर्स गर्न सबै स्तरका विद्यार्थीलाई खुला छ । यद्यपि निश्चित प्रक्रियाचाहिं पूरा गर्नैपर्छ । सबै ग्रेडका विद्यार्थीले फरक–फरक कार्यक्रममा भर्ना हुन पाउँछन् । कक्षा ११ मा भर्ना हुन सकिएन भनेर निराश हुनु पर्दैन, हामीसँग प्रशस्त अवसर छन् ।
सिटिइभिटीले प्रदान गर्ने शिक्षाबाट विद्यार्थीलाई के फाइदा हुन्छ ?
म ठोकुवाका साथ भन्न सक्छु, हामीबाट उत्पादित जनशक्तिमध्ये ७५ प्रतिशतभन्दा बढीले रोजगारी प्राप्त गरेका छन् । हामी सबै स्तरका विद्यार्थीका लागि सोही अनुरूपका कार्यक्रम बनाएका छौं । सिटिइभिटीले विश्व बजारमा बिक्न सक्ने सीप अर्थात् शिक्षा प्रदान गरिरहेको छ । एसएलसीमा डी र ई ग्रेड आयो भनेर निराश बन्नु पर्दैन । यहाँबाट छोटो अवधिका सीपमूलक तालिमदेखि १८ महिने व्यवसायिक कोर्सहरू गर्न सकिन्छ । १८ महिने कोर्सपछि डिप्लोमा समेत पढ्न पाइन्छ । जसले गर्दा आत्मनिर्भर हुन कुनै समस्या पर्दैन ।
सिटिइभिटीको भावी कार्यक्रम के छ ?
छोटो अवधिको तालिम लिएकाहरूलाई प्राथमिकतामा राखेर ‘नेसनल भोकेसनल क्वालिफिकेसन फेर्मवर्क’ बन्दैछ । यसबाट छोटो अवधिको तालिम लिएकाहरूलाई उच्च शिक्षा लिने सौभाग्य पाउनेछन् । सन् २०१८ देखि यसलाई प्रयोगमा ल्याउने तयारी भैरहेको छ । विभिन्न तह छुट्टयाएर जनशक्तिलाई व्यवस्थापन र अवसर प्रदान गरिनेछ । यो नयाँ कार्यक्रमले पिएचडीसम्मको मान्यता पाउने सम्भावना छ । अन्य कार्यक्रम पनि धमाधम थपिँदै छन् ।
सिटिइभिटीका कोर्स अध्ययनका लागि भर्ना हुने न्यूनतम आधार के हो ?
हामीसँग डी र ई का लागि १८ महिने तथा सीपमूलक तालिम र अन्य ग्रेडका लागि डिप्लोमा लेभलका कोर्सहरू छन् । सुरुमा प्रवेश परीक्षामा सामेल भएर न्यूनतम अंक प्राप्त गरिसकेपछि प्रतिस्पर्धाका आधारमा कोटामा परेपछि भर्ना हुन सकिन्छ । विद्यार्थीको आन्तरिक क्षमताले प्राविधिक शिक्षामा ठूलो महत्व राख्छ ।
No comments:
Post a Comment